सांसदलाई ५ करोडसम्मका योजना वितरण
२१ फागुन जनकपुधरधाम । मधेश सरकारले प्रदेश सांसदहरूलाई डेढदेखि पाँच करोडसम्मका योजना वितरण गरिरहेको छ ।मधेश सरकारअन्तर्गतका मन्त्रालय तथा मातहत निकायले समानुपातिकलाई एकरोड ५० लाख र प्रत्यक्ष निर्वाचित प्रदेश सांसदलाई पाँच करोड रुपैयाँसम्मको योजना वितरण गरिरहेका छन् ।विकृति व्यतिथि देखिएपछि सांसद विकास कोषका नामले परिचित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको थियो । यसपछि मधेश सरकारले विगतझै त्यति रकमको योजना बाँड्ने काम जारी राखेको छ ।
यसको निरन्तरता जनमत नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । सांदहरुलाई योजना वितरणको लागि मन्त्रालयहरुले मातहतका निकायलाई सांदहरूको नामावली नै पठाएको पाइएको छ ।मधेश सरकारको सबभन्दा बढी १४ अर्ब बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले आठवटै जिल्लाको पूर्वाधार विकास कार्यालयमा नामावली पठाएर योजना वितरण गरेको छ ।
कार्यालयहरुले सम्बन्धित वडा कार्यालय वा स्थानीय तहमा पठाउनु पर्ने योजनाको चिठी पूर्वाधार कार्यालयहरुले प्रदेश सांसद वा उनीहरुले तोकेको व्यक्तिलाई वितरण गरिरहेका छन् ।पूर्वाधार विकास कार्यालय धनुषाले मंगलबारसम्मको उपलब्ध धनुषाका तथ्यांक अनुसार मन्त्रालयबाट आएको नामावलीको आधारमा ७८ वटा योजनाको चिठी प्रदेश सांसदहरुलाई वितरण गरिएको छ ।
पूर्वाधार विकास कार्यालय पर्साले एकसय वटा योजनाको चिठी प्रदेश सांसदहरुलाई बाँडेको प्रमुख लालबाबु रायले जानकारी दिए । यस्तै पूर्वाधार विकास कार्यालय बाराले पनि सय वटा योजनाको चिठी प्रदेश सांसदहरुलाई बाँडेको छ । यसै गरी महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट पूर्वधार कार्यालयले पनि योजना सांसदहरुलाई वितरण गरेको हो ।
चालु आर्थिक वर्षमा सतिश सिंह नेतृत्वको सरकारले योजनाहरुको काम खुल्ला प्रतिस्पर्धाबाट गराउने नीति र बजेट वक्तव्यलाई उल्लेख गरेको थियो । तर, एमाले, कांग्रेसको जोडबलमा सरकार आफै व्याक भएर सदनबाट संकल्प प्रस्ताव बहुमतले पारित गराई उपभोक्ता समितिमार्फत काम गराउन सांसदहरुलाई योजनाको चिठी वितरण गरिरहेको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले विगत झै यसपटक पनि मन्त्रालयहरुबाट प्रत्यक्षलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँको योजना वितरण भइरहेको बताए । ‘विगत जस्तै यसपटक पनि समानुपातिकलाई डेढ र प्रत्यक्षलाई पाँच कारोड रुपैयाँको योजना वितरण भइरहेको छ’, उनले भने ।