राजतन्त्र फर्कन्छ भन्नेहरू मूर्ख हुन् – सञ्चारमन्त्री गुरुङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१
2.4K
SHARES

२३ फागुन काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्कन्छ भन्ने कल्पना गर्नेहरूलाई मूर्खको संज्ञा दिएका छन् । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार (फागुन २३) सार्वजनिक गर्ने क्रममा उनले ‘पृथ्वीमा जन्मिएको बच्चा आमाको काखमा फकर्न नसक्ने’जस्तै राजतन्त्र फिर्ती सम्भव नभएको बताए ।

“लोकतन्त्र आइसकेपछि लोकतन्त्रको मूल्य–मान्यतामा सञ्चालन भइरहेको व्यवस्थालाई छोडेर फेरि पनि राजतन्त्र त्यही आमाको गर्भमा फर्कन्छ भन्ने कुरा कल्पना गर्नेहरू मूर्ख हुन्,” उनले भने ।

अरू देशमा व्यवस्था परिवर्तनपछि राजालाई मुलकमा बस्न नदिइएको, सम्पति नै हरण गरेको उनले सुनाए । उनले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुरक्षा प्रदान गरेर स–सम्मान राखिएको बताए ।

ज्ञानेन्द्रले हाल आफ्नो हैसियत भुलेको उनले जिकिर गरे । “स–सम्मान सुरक्षाको प्रबन्ध गरेर नागार्जुनमा राखेका छौँ । त्यसको प्रबन्ध गर्ने राजनीतिक दलमाथि कटाक्ष गर्दै म फेरि फर्कन्छु भन्दै जुन हर्कत गरिराखेको छ, हैसियत भुलेको हो,” उनले भने ।

उनले ‘राजा आऊ देश बचाऊ’ भन्नेहरूलाई दुनियाँमा कुन राजाले देश बचाएको छ ? भन्दै प्रश्न समेत गरे । “राजाले कसरी देश बचाउँछ ? दुनियाँमा कुन राजाले देश बचाएको छ ? आफ्नो ज्यानको, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोके्रसी प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,” उनले भने ।राजावादी मच्चिँदैमा राजतन्त्र नआउने उनले बताए ।