महिला न्यायाधीश भएर मात्र हुँदैन – पूर्वप्रधानन्यायाधीश कार्की
२६ फागुन काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताएकी छन् । सोमबार (फागुन २६) ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ मा उनले यस्तो बताएकी हुन् ।महिला न्यायाधीश भएर आउँदैमा सबै कुरा पूरा नहुने उनले उल्लेख गरिन् । उनले महिला न्यायाधीशमा क्षमता र साहस हुन जरुरी रहेको औँल्याइन् ।
न्यायाधीशले धेरै अध्ययन गर्न जरुरी रहेकामा उनले जोड दिइन् । उनले न्यायाधीशले जस लिने आशा गरेर न्यायसम्पादन गर्न नहुने बताइन् ।“…यो यस्तो क्षेत्र हो, अदालतमा १० हजार मुद्दा छ भने २० हजार मानिस हुन्छ । १० हजारले जित्छ, १० हजारले हार्छ । हार्ने १० हजारले कहिल्यै जस दिँदैन अदालतलाई,” उनले भनिन्, “त्यसैले मैले काम गरेँ, तर किन जस दिएन भनेर सोच्दै नसोच्नुस् । आफ्नो क्षमताले भ्याएसम्म काम गर्नुस् ।”पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताइन् ।