रङहरूको पर्व होली आज
२९ फागुन काठमाडौं । रङहरूको पर्व फागु अर्थात् होली आज मनाइँदै छ । पहाडी तथा हिमाली भूभागमा यो पर्व आज मनाइँदै छ । तराईका जिल्लामा भने भोलि मनाइनेछ । पहाड र हिमाली क्षेत्रमा भन्दा एक दिन पछि तराईमा यो पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।
विभिन्न रंगीचंगी कपडाले सजिएको चीर ठड्याएपछि सुरु हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा शुभकामना दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे ।