भ्रष्टाचारमा डोजर चलाउन शक्तिशाली आयोग गठन गरौँ – एकीकृत समाजवादी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१
5.9K
SHARES

१ चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक क्षेत्रको भ्रष्टाचार नियन्त्रणका लागि शक्शिाली छानबिन आयोग गठन गर्न माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले पार्टीको प्रस्तावबारे जानकारी गराएका हुन् ।“राजनीति क्षेत्रको भ्रष्टाचारमा डोजर चलाउनका लागि हाम्रो प्रस्ताव छ, अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरियोस्,” उनले भने ।

उनले राजनीतिक दलका नेताहरू भ्रष्टाचारमुक्त रहेको विश्वास सिर्जना गर्न आवश्यक रहेको पनि बताए । “भ्रष्टाचार सबैतिर छ । तर, राजनीतिक पार्टीको संरचना र कार्यप्रणालीले नै निरुत्साहित र दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म प्रभावकारी नियन्त्रण हुन सक्दैन,” भुसालले भने ।उनले पार्टीले उठाएका मुद्दामा आजैबाट आन्दोलनमा रहेको बताए । “पार्टीहरू मिसन–८४ मा गइरहेका छन् । हाम्रो भोटदेखि भोटसम्मका लागि यो आन्दोलन हुँदै छैन । सम्भवतः धेरै लामो आन्दोलन हुँदै छ,” उनी भन्छन् ।