परराष्ट्रमन्त्री भेटघाटमा व्यस्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
2.5K
SHARES

५ चैत काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनी समकक्षी एन्द्री सिबिहासँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमको क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो ।मन्त्री राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि युक्रेन सरकारसँग आग्रह गरिएको सामाजिक सञ्जालमा जानकारी गराउनुभएको छ । रुसी सेनामा भर्ना भएका ती नेपालील युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले रिहाइको माग गरिएको उल्लेख छ ।

नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारी दिएकाले युक्रेन सरकारको सहयोग पनि मागिएको छ । दुई मुलुकबीच सरकारी तथा कूटनीतिक पासपोर्ट वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ । त्यसैगरी उहाँले नयाँ दिल्लीमा मोल्दोभाका उपप्रधान तथा विदेशमन्त्री मिहाइ पोप्सोइसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा दुई मुलुकबीचको सम्बन्धको चर्चा गर्दै मन्त्री राणाले मोल्दोभाका विदेशमन्त्रीको नेपाल भ्रमणको प्रतिक्षामा रहेको जानकारी दिनुभएको छ ।