नबिलको सिईओमा मनोज ज्ञवालीको चर्चा
१२ चैत काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सामेल हुन नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् । नबिल बैंकका मुख्य लगानीकर्ता विनोद चौधरीको डिजाइन बमोजिम ढुंगाना गभर्नरको दौडमा सामेल भएको चर्चा चलेको छ । हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो। गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । २०७६ चैत २४ गते मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीलाई ५ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो।
ढुङ्गानाले राजीनामा दिएसँगै अब नबिल बैंकको सीईओ को बन्छ भन्ने चर्चा समेत चल्न थालेको छ । हाल बैंकको सिनियर डेपुटी सीईओका रूपमा काम गरिरहेका सुजित शाक्य र सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका मनोज ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । बैंकको एक स्रोतको अनुसार चौधरी ज्ञवालीलाई सिईओ बनाउने तयारीमा रहेका छन् । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा मात्रै वरिष्ठ डेपुटी सीईओमा बढुवा गरेर बाटो खुला गरेको भन्ने चर्चा छ ।