११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ – उपाध्यक्ष पौडेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १४ २०८१
1.7K
SHARES

१४ चैत रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आगामी ११ औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने भएकाले कुनै व्यक्ति विशेषको फेरो नसमाउन कार्यकर्तालाई निर्देशन गरेका छन् ।आफ्नो निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं २ मा पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उनले यति ठूलो पार्टीभित्र कुनै व्यक्ति विशेषको गुटबन्दीमा नरमाउन उनको आग्रह थियो ।

महाधिवेशन र त्यसमा कुनै गुट-उपगुट नहुने भएकाले सबै नेता कार्यकर्तालाई त्यस प्रकारको काममा नलाग्न उनको निर्देशन थियो । पौडेलले गुटबन्दी गर्ने नेता कार्यकर्तामाथि निर्मम भएरै कारबाही गर्ने बताए । पार्टीको नीति नियममा हिँड्न र कुनै पनि नेताका पछाडि नलाग्न आग्रह मात्रै गरेनन् पार्टीको विधि विपरीत गुटबन्दी गर्ने विरुद्ध सूक्ष्म अध्ययन भइरहेको बताए ।

‘११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ, कुनै दबाबले सर्वसम्मत हुने होइन, विश्वासले सर्वसहमति हुने हो, माथि यस्तो अवस्था छ तर तल केही व्यक्ति रमाउनका लागि किन अनावश्यक चर्चामा समय खर्चिनुपर्‍यो ?’ उनले भने- ‘गुटबन्दीको धन्धाले केही हुँदैन, पार्टीका पछि लाग्नुस् व्यक्तिको होइन, यस्तो धन्धामा कोही नलाग्नुस् ।’ उपप्रधान तथा अर्थमन्त्री रहेका पौडेलले रुपन्देहीबाट राजनीतिक संस्कार अघि बढाउनुपर्ने जनाए । ‘गुटबन्दीको कारण समस्या आएको छ, हामीमाथि अरूले प्रहार निर्मम प्रहार गरिरहेका छन् अनि भित्रैबाट यस्तो गलत काममा किन रमाउने ? कम्तीमा रुपन्देहीका साथीहरू यस्तो काममा नलाग्नुस्’ उनले भने –‘यत्रो शक्तिशाली पार्टी भएपछि किन व्यक्तिका पछि लागेर आफ्नो भविष्य संकटमा पार्नुहुन्छ, दुई गुट छ तीन गुट छ भनेर आफै समूह बनाएर किन दिन बिताउने गर्नुहुन्छ ? आफै रमाउन यस्तो गुटको सहारा लिनुपर्‍यो ?’

नेता पौडेलले संकटको समयमा सरकारको नेतृत्व गरेको बेला सरकारले गरेका राम्रा कामको प्रचार गर्न उनले आग्रह गरे । ‘यस्तो संकटको समयमा पार्टीले सरकारको नेतृत्व गरेको छ, यो बीचमा सरकारले निकै राम्रा काम गरेको छ तर हामीले जनस्तरमा प्रचार कम गरेका छौँ, विरोधीहरू साना साना कमजोरीलाई गलत प्रचार गरिरहेका छन् तर हामी चुपचाप छौँ, यति ठूलो शक्तिशाली संगठन छ हाम्रो तर राम्रोलाई यो यो राम्रो भएको छ भनेर त सूचना दिनुपर्‍यो नि,’ पौडेलले भने ।