नारायणघाट–बुटवल सडकखण्ड ६ घण्टा यातायात सञ्चालनमा रोक
२ वैशाख नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि वैशाख १ गते रातको समयबाट बन्द गरिएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा गए राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
हिजाेदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको समयमा ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उहाँले बताउनुभयो । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो । “दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी छ”, उहाँले भन्नुभयो, “साँघुरो क्षेत्रमा सवारीसाधन रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।”
दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको खनालले जानकारी दिनुभयो । १४ किलोमिटर दाउन्ने क्षेत्रको पहाडमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक अप्ठ्यारो भएको खनालको भनाइ छ ।नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । शहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन रहने गरी काम भइरहेको खनालको भनाइ छ । खनालका अनुसार दाउन्नेको पूर्वी खण्डमा मात्रै ७० वटा कल्भर्ट निर्माण गर्नुपर्नेछ ।
राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र त्यसपछि पहाडको भित्ता काट्ने काम अगाडि बढाइने उहाँले बताउनुभयो । गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।