सिटामोल र जीवनजल उत्पादन बन्द


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
1.8K
SHARES

७ वैशाख काठमाडौं । सरकारले थप लगानी गरेर रुग्ण नेपाल औषधी लिमिटेड सञ्चालन हुने अवस्थामा पुर्‍यायो ।  तत्कालीन उद्योगमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको पहलमा औषधी उद्योग पुनः सञ्चालनमा आएको हो ।अर्थ मन्त्रालयले साढे ६ करोड रुपैयाँ बढी लगानी गरेपछि उद्योगले सिटामल र जीवनजल उत्पादन गरिरहेको छ ।  उद्योगको उत्पादनप्रति अझै आमनागरिकको विश्वास छ । तर, नेपाल औषधीले डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन बन्द गरेको छ ।स्वास्थ्य मन्त्रालयले औषधी खरिद नगरेको भन्दै सिटामोल र जीवनजल बन्द गर्नुपरेको दाबी उद्योग व्यवस्थापनको छ ।  सरकारले औषधी खरिद नगर्दासम्म उद्योग सञ्चालन नहुने अवस्था देखिएको छ । यदी सरकारले औषधी खरिद नगरे नेपाल औषधी उद्योग बन्द हुने देखिन्छ ।

निजी क्षेत्रबाट ठूलो लगानीका औषधी उद्योगहरु सञ्चालनमा रहेका छन् ।  ५० भन्दा बढी औषधी उद्योग मुलुकमा सञ्चालनमा छ । ति उद्योगहरु राम्रोसँग चलेका छन्, नाफा कमाएकै छन् ।यस्तो अवस्थामा सरकार स्वामित्वको नेपाल औषधी किन पुग्न सक्दैन ? निजी कम्पनीहरुसँग नेपाल औषधी उद्योग प्रतिस्पर्धा गर्न किन सक्दैन ? र सरकारले औषधी खरिद गरे मात्र चल्ने भएपछि नेपाल औषधी उद्योग किन चाहियो ?  भन्ने प्रश्न उठेको छ ।ठूलो परिमाण कच्चा वस्तु किनेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधी खरिद नगरेपछि उत्पादन नै बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक कैलाशकुमार पनेरुले बाह्रखरीलाई बताएका छन् ।उनका अनुसार मन्त्रालयले निजी कम्पनीको औषधी मात्र किनेपछि अहिले उद्योगमा डेढ करोड रुपैयाँ बराबरको सिटामोल र जीवनजल थन्किएको छ ।

सरकारले औषधी नकिने उद्योग बाच्न नसक्ने दाबी गर्दै महाप्रवन्धक पनेरुले भने  “सरकारले औषधी किने उद्योग बाच्ने भयो नत्र बन्द हुने अवस्थामा छ । निजी उद्योगसँग प्रतिस्पर्धा गर्न व्यवसायिक योजना, बजार रणनीति र त्यहीअनुसार बजारमा परिचालन गर्न उद्योगसँग जनशक्ति नै छैन । त्यसैले अहिलेको संरचनालाई हेर्दा उद्योग बचाउन स्वास्थ्य मन्त्रालयले औषधी किन्नुपर्ने छ ।”“सरकारले तोकेको मूल्यभित्र रहेर औषधी बेच्दै आएको अवस्था आफ्नो संस्थान हुँदाहुँदै सरकारले निजी क्षेत्रबाट खरिद गर्छ भने नेपाल औषधी कसरी चल्छ ?” उनले भने “महंगो भएर हुँदैन गुणस्तर पनि हुनुपर्छ । उद्योग चलाउन सरकारको मुख ताक्नुपर्ने अवस्था छ ।”

सरकारले १० पैसामा सिटामोल खरिद गरिरहेको छ । १० पैसामा आउने सिटामोलको गुणस्तर कस्तो होला ? उनले प्रश्न गरेका छन् । बजारीकरणका लागि मेडिकल र फार्मेसी सधै कर्मचारी पठाउन नसक्ने अवस्था रहेको उनको भनाई छ ।बजार प्रतिनिधी राखेर आफ्नो उत्पादनको प्रवर्द्धन किन गर्दैन भन्ने प्रश्नमा महाप्रबन्धक पनेरु भन्छन् “म एक्लैले बजार प्रतिनिधि राख्न सक्ने कुरा भएन् । उद्योगको सञ्चालक समिति रहेको छ, सरकार छ । बोर्डमा स्वास्थ्य, अर्थ र उद्योग मन्त्रालयका प्रतिनिधि रहेका छन् ।”

प्रक्रियागत कारणले बजारीकरण गर्न नसकेको उनको तर्क छ ।   सरकारी कम्पनी भएकाले सार्वजनिक खरिद ऐन पालना गर्नुपर्छ । निजी उद्योगले कच्चा वस्तु सस्तो भएका बेला तत्कालन खरिद गर्न सक्छन् । तर, सरकारी भएकाले नेपाल औषधीले प्रक्रियामा जानुपर्छ ।भनेका बेला बस्तु खरिद गर्न नपाइने महाप्रवन्धक पनेरुले गुनासो गरेका छन् ।  उद्योगको औषधी सरकारी निकायले खरिद गर्ने गरी तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति गठन भएको थियो । समितिले अर्थ, उद्योग र स्वास्थ्य मन्त्राललाई नेपाल औषधीको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय गरेपछि उद्योगले १० प्रतिशत औषधी उत्पादन वृद्धि गरेको थियो ।