‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२
3.6K
SHARES

११ वैशाख काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् ।

जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका सदश्य डा प्रकाशकुमार श्रेष्ठले बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पुरानो प्रोजेक्ट बैंकलाई पूर्ण रूपमा बन्द गरेर नयाँ प्राजेक्ट बैङ्क तयार पारिएको बताए । यद्यपि, पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’ का रूपमा राखेर राम्रा आयोजनालाई नयाँ प्रोजेक्ट बैङ्कमा सारिएको उनको भनाइ छ ।

“आयोजना बैङ्क निकै अव्यवस्थित भयो । बैङ्कमा १८ हजारभन्दा बढी आयोजना राखिएका रहेछन् । गत वर्ष मात्रै अन्तिम समयमा करिब ११ हजार आयोजना प्रविष्ट गराइएको पाइयो”, अर्थ समिति बैठकमा डा श्रेष्ठले भने, “केहीको त नाम मात्रै प्रविष्ट गराइएको रहेछ । आयोजनाबारे अरू कुनै विवरण नै त्यहाँ छैन ।”

पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’का रूपमा राखेर हाल नयाँ प्रोजेक्ट बैङ्क तयार पारी छ हजार २०० भन्दा बढी आयोजना प्रविष्ट गरिसकेको उनले जानकारी दिए । जसमध्ये तीन हजार १८० आयोजना नयाँ छन् । आगामी आर्थिक वर्षको बजेटमा पर्ने आयोजना गत चैत मसान्तभित्रै प्रोजेक्ट बैङ्कमा प्रविष्ट गरिसक्नुपर्ने गरी आयोग आफैँले मापदण्ड बनाएको भए पनि अझै आयोजना प्रविष्ट गर्ने क्रम रोकिएको छैन ।