पृथ्वीको अन्तिम कुनासम्म आतंककारी र षड्यन्त्रकारीलाई छाड्ने छैनौँ – मोदी


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०८२
2.2K
SHARES

११ वैशाख काठमाडौं । मंगलबार जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बिहीबार बिहारको मधुबनीमा सार्वजनिक कार्यक्रममा सहभागी भए ।कार्यक्रममा उनी पहलगाम आक्रमणबारे क्रोधित सुनिए । प्रधानमन्त्री मोदीले भने, “आक्रमण गर्ने आतंककारीहरूलाई कल्पना गरेभन्दा ठूलो सजाय दिइनेछ ।”मधुबनीमा आयोजित कार्यक्रममा भाषण सुरु गर्नुअघि प्रधानमन्त्री मोदीले दुई मिनेट मौन धारण गरेर आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनले भने, “आज बिहारको भूमिबाट म सम्पूर्ण विश्वलाई यो सन्देश दिन्छु कि भारतले प्रत्येक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पहिचान गर्नेछ र सजाय दिनेछ । हामी पृथ्वीको अन्तिम कुनामा पनि तिनीहरूलाई छाड्ने छैनौँ । आतंकवादले भारतको आत्मालाई कहिल्यै तोड्न सक्दैन ।”

“आतंकवाद विनासजाय छाडिने छैन । न्याय सुनिश्चित गर्न आवश्यक पर्ने जस्तोसुकै प्रयास गरिनेछ । सम्पूर्ण राष्ट्र यस संकल्पमा एकताबद्ध छ । मानवतामा विश्वास गर्ने प्रत्येक व्यक्ति हाम्रो साथमा छ । हामीसँगै उभिएका विभिन्न देश र उनीहरूका जनतालाई म धन्यवाद दिन्छु,” मोदीले भने ।

उनले अगाडि भने, “आतंककारीहरूले निर्दोष नागरिकहरूलाई जुन क्रूरताका साथ मारेका छन्, त्यसबाट सम्पूर्ण राष्ट्र दुःखी छ । यस आतंककारी आक्रमणमा कसैले आफ्नो छोरा गुमाएका छन्, कसैले आफ्ना भाइ गुमाएका छन् र कसैले आफ्नो जीवनसाथी गुमाएका छन् । सम्पूर्ण राष्ट्र पीडितहरूको साथमा उभिएको छ ।”

“यो आक्रमण केवल निहत्था पर्यटकमाथि मात्र भएको छैन, देशका शत्रुहरूले भारतको आत्मामाथि आक्रमण गर्ने आँट गरेका छन् । म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यो आक्रमण गर्ने आतंककारीहरू र यस आक्रमणको षड्यन्त्र गर्नेहरूलाई उनीहरूले कल्पना गर्न सक्नेभन्दा पनि खराब सजाय दिइनेछ,” मोदीले स्पष्ट भनेका छन् । उनी यत्तिमै रोकिएनन् । उनले भने, “अब आतंककारीहरूको बाँकी रहेको जमिनलाई ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयहरूको इच्छाशक्तिले अब आतंककारीका मालिकहरूको ढाड भाँचिदिनेछ ।”