सरकार ढल्छ भन्नेहरू फत्रक्क गले – प्रधानमन्त्री
१३ वैशाख काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् । शनिबार (वैशाख १३) नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे ।
“सरकार बांगिसक्यो, शेरबहादुरजी थाइल्यान्डबाट नेपाल आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए,” उनले भने, “मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस्, आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ ।”
उनले अगाडि भने, “शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरू फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरैपटक खोज्नतिर हामी लाग्नु हुँदैन ।”
उनले आउँदो आर्थिक वर्षका निम्ति सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बताए । “हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ,” उनले भने, “हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।”