दिल्लीमाथि कोलकाताको १४ रनको जित


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२
3.8K
SHARES

१७ वैशाख काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइटर्सले १४ रनको जित निकालेको छ । मंगलबार अरूण जेट्ली रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो ।जितका लागि २१० रनको लक्ष्य पाएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनमात्र बनाउन सक्यो ।

दिल्लीका फाफ डुप्लेसिसले ४५ बलमा सर्वाधिक ६२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । कप्तान अक्षर पटेलले ४३, विप्राज जिगमले ३८ र करुण नायरले १५ रन थपे । दिल्लीको अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

कोलकाताका लागि सुनिल नारिनले सर्वाधिक तीन विकेट लिए । यस्तै, वरुण चक्रवर्तीले दुई विकेट लिँदा अनुकुल रोय, वैभव अरोरा र आन्द्रे रसेलले समान एक–एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा कोलकाताका आंकृश रघुवंशीले ४४ रन बनाएका थिए । रिंकु सिंहले ३६ रन थप्दा सुनिल नारिनले २७ रन जोडे । यस्तै, ओपनर रहमनुल्लाह गुर्बज र कप्तान अजिक्या रहाणेले समान २६ रन बनाए ।

दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए । अक्षर पटेल र विपराज निगमले समान दुई विकेट लिए । दुस्मन्था चमिराको नाममा एक विकेट रह्यो ।

यो हारपछि दिल्लीले शीर्ष स्थानमा अंक दूरी घटाउने अवसर गुमाएको छ । टोली १० खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । कोलकाता समान खेलबाट नौ अंकसहित सातौँ स्थानमा छ । प्रतियोगिताको शीर्ष स्थानमा आसिन रोयल च्यालेन्जर्स बेंगलुरुको १४ अंक छ ।