राजावादी मुभमेन्टमा भारतको समर्थन छैन – नेता चौथाइवाले


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
1.9K
SHARES

१९ वैशाख काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग शुक्रबार भएको भेटमा डा. चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र वर्तमान व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

माओवादी उपमहासचिव पुनको सचिवालयले भन्यो, ‘चौथाइवालेसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।’भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो ।

‘दुई पार्टीबीचको सम्बन्ध विगतमा पनि राम्रो छ, आगामी दिनमा अझ सुमधुर बनाएर लैजानुपर्छ भन्ने छलफल भएको छ,’ सचिवालयले भन्यो । पूर्वअर्थमन्त्री समेत रहेका पुनसँगको भेटमा चौथाइवालेले पहलगाममा हालै भएको आतंकवादी हमलालाई लिएर नेपालका राजनीतिक दलले आतंकवादको विरोध गर्दै भारतको पक्षमा गरेको समर्थनप्रति खुसी व्यक्त गरेका थिए ।