साझा मुद्दा बनाएर विद्यार्थी संगठनहरु सँगसँगै अगाडि बढ्नुपर्छ – मन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२
1.6K
SHARES

२४ वैशाख काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ/संगठनहरुले सामाजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।बेथिति अन्त्य र समाज सुधारका निम्ति विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । पूर्व विद्यार्थी नेतासमेत रहेका मन्त्री पौडेलले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘निर्वाचनमा प्रतिस्पर्धा विद्यार्थी संगठनले विद्यार्थी संगठनसँग नै गर्ने हो, तर निर्वाचनभन्दा अगाडि विद्यार्थीहरुले साझा मुद्दा निर्माण गरेर सँगसँगै जाने परिस्थिति बनाउन सक्नुपर्छ ।’

विगतका राजनीतिक आन्दोलनमा विद्यार्थी संघ संगठनहरुले सँगसँगै अघि बढ्दा उपलब्धि हासिल गरेको बताउँदै उनले आपसी एकतामा जोड दिए । ‘वर्गीय मुद्दा प्राप्त गर्नका निम्ति, वर्गीय मुद्दा उपलब्धिका रुपमा हासिल गर्नका निम्ति, विद्यार्थी संगठनहरु बीचमा एकता कायम गरेर अगाडि जान सक्नुपर्छ,’ मन्त्री पौडेलले भने, ‘त्यसैले साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अगाडि जाने स्थिति भयो भने विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि सकारात्मक हस्तक्षेप गर्न सक्छ ।’