पुरातनवादी तत्त्वहरू छटपटाएका छन् – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२
1.5K
SHARES

२५ वैशाख ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्त्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन् ।बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्त्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिँडेको बताएका हुन् ।

उनले भने, ‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्त्वहरू छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।’

प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए ।

‘अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता र संकीर्णता बोक्नेहरूले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन,’ उनले भने ।

मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।’

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्त्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरूलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे ।