चिनियाँ विदेशमन्त्री र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारबीच वार्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२
1.6K
SHARES

२८ वैशाख काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच शनिबार टेलिफोन कुराकानी भएको छ । चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत उक्त विषयमा जानकारी दिएको हो ।“२०२५ मे १०मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालसँग फोनमार्फत कुराकानी गरेका छन्,” विज्ञप्तिमा लेखिएको छ ।

टेलिफोन संवादमा डोभालले कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा भारतीयहरूलाई गम्भीर असर पुगेका कारण भारतले कडा आतंकवादविरोधी कदम चाल्नुपरेको बताएको विज्ञप्तिमा उल्लेख छ । टेलिफोन कुराकानीमा उनले भनेका थिए, “युद्ध भारतको रोजाइ होइन र यो कुनै पनि पक्षको हितमा छैन । भारत र पाकिस्तान युद्धविरामको लागि प्रतिबद्ध छन् र क्षेत्रीय शान्ति तथा स्थायित्व छिट्टै पुनस्र्थापना गर्न प्रयत्नशील छन् ।” वाङ यीले चीनका तर्फबाट पहलगाम हमलाको निन्दा गर्दै चीनले हरेक प्रकारका आतंकवादको विरोध गर्ने बताएका छन् ।

आजको विश्व परिस्थिति निकै जटिल रहेको भन्दै उनले एसियामा शान्ति कायम गर्न अत्यन्तै आवश्यक भएको पनि बताए ।भारत र पाकिस्तान परिवर्तन गर्न नसकिने छिमेकी भएका र दुवै चीनका पनि छिमेकी भएको बताउँदै वाङ यीले भारतले आफूले युद्ध नचाहेको भन्ने धारणालाई चीनले प्रशंसा गरेको पनि बताएका थिए ।विज्ञप्तिअनुसार दुवै देश र विश्वको हितमा भएकाले चीनले भारत र पाकिस्तान मिलेर वार्तामार्फत स्थायी शान्तिको दिशामा अघि बढून् भन्ने चाहेको पनि बताएका थिए ।