सिरियाका राष्ट्रपतिलाई भेट्दै सम्बन्ध सुधार गर्ने विषयमा ट्रम्पले गरे छलफल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०८२
1.4K
SHARES

३१ वैशाख काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साउदी अरेबियामा सिरियाली राष्ट्रपति अहमद अल–शरासँग भेटवार्ता गरेका छन् । यसअघि अमेरिकाले सिरियाको इस्लामिक सरकारमाथि लगाएका सबै प्रतिबन्ध हटाउने आश्चर्यजनक घोषणा गरेको थियो ।ट्रम्पले अमेरिका र अरब देशहरूबीचको शिखर सम्मेलनमा यो टिप्पणी गरेका हुन् । शिखर सम्मेलनभन्दा पहिले उनले सिरियाली राष्ट्रपति शरासँग भेट गरे । साउदीको सरकारी टेलिभिजनले प्रसारण गरेका तस्बिरहरूमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको उपस्थितिमा दुवै  नेताहरूले हात मिलाउँदै गरेको देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसका प्रवक्ताले बताएअनुसार, भेटमा ट्रम्पले शरालाई इजरायलसँग सम्बन्ध सामान्य बनाउन पनि आग्रह गरेका छन् ।सिरियाली नेताहरूको अल–कायदासँग पुरानो सम्बन्धबारे आफ्नो प्रशासनभित्र चिन्ता भएता पनि ट्रम्पले मंगलबार रियादमा दिएको भाषणमा सिरियामाथि लगाएका प्रतिबन्ध हटाउने प्रमुख नीतिगत परिवर्तनको घोषणा गरेका थिए ।

टर्कीको अनादोलु समाचार संस्थाका अनुसार, उक्त भेटमा टर्कीका राष्ट्रपति रिसप तयिप्प एर्दोगनले पनि भर्चुअल माध्यममार्फत सहभागिता जनाएका थिए ।साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले शिखर सम्मेलनमा सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयलाई साउदी अरबले सरहना गरेको बताए ।

सिरियाको शरा प्रशासनप्रति इजरायलको गहिरो शंका र केही अमेरिकी अधिकारीहरूको चिन्ता हुँदाहुँदै पनि यी प्रतिबन्ध हटाइएको बताइएको छ । इजरायली अधिकारीहरूले शरालाई २०१६ मा अल–कायदासँग सम्बन्ध विच्छेद गरे पनि अझै जिहादी भनेर चिनाउँदै आएका छन् । यस सम्बन्धमा इजरायल सरकारले तत्काल प्रतिक्रिया दिएको छैन ।