महान्यायाधिवक्ता कार्यालयले दियो चेक अनादर कसूरमा यस्तो निर्देशन
२ जेठ काठमाडौं ।महान्यायाधिवक्ताको कार्यालय बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२ को दफा १० ले मूल ऐनको दफा २६ पछि २६क. थप गरी चेक अनादर सम्बन्धी मुद्दामा मिलापत्र गर्ने सम्बन्धमा गरेको व्यवस्थाको कार्यान्वयनको लागि स्पष्टता र एकरूपता कायम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
कार्यालयले चेक अनादर सम्वन्धी कसूरमा अनुसन्धानको क्रममा मिलापत्र गर्दा अनादर भएको चेकको बिगोका सम्बन्धमा जाहेरवाला (धारक) र प्रतिवादीले रकम लेनदेन गरी वा चित्त बुझाई चेकको विगोका सम्बन्धमा दावी जिकीर नरहेको भनी जाहेरवाला र प्रतिवादीले अनुसन्धान गर्ने प्रहरी कार्यालयमा संयुक्त निवेदन दिएकोमा त्यस्तो निवेदन दर्ता भएकै दिन सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान स्थगित गरी विगो लेनदेन सम्बन्धी आधिकारीक कागज, सम्बन्धित मिसिल र संयुक्त निवेदन मिसिल संलग्न गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय समक्ष पेश गर्न निर्देशन दिएको छ।
यस्तै खण्ड (क) बमोजिम निवेदनसहित प्राप्त भएको मिसिल कागजात तोकिएको सरकारी वकीलले अध्ययन गरी सम्बन्धित व्यक्तिलाई बुझ्दा अनादर भएको चेकको विगो प्राप्त गरेको वा विगो दावी नरहेकोमा त्यस्तो मुद्दामा अभियोजन नगर्ने निर्णय गरी प्रतिवादी हिरासतमा रहेको भए हिरासतबाट छाडी दिन अनुसन्धान अधिकारीलाई निर्देशन दिने जनाएको छ ।
