एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन
३ जेठ झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।
एशियाली विकास बैंकको सहयोगमा रु। १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई। सुनिलबाबु पन्तले बताए ।
मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उनको भनाई छ । “डाइभर्सन बनाइएका स्थानमा खाल्डाखुल्डी भएकाले बर्षाको समयमा विपद् र दुर्घटना निम्तिने ठूलो जोखिम हुन सक्छ,” उनले भने, “राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सकेर मुख्य राजमार्गबाटै यातायात सञ्चालन गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं ।”