हायात ग्राउन्डमा नोरा फतेहीले तताइन्
४ जेठ काठमाडौं । हायात ग्राउन्डमा उनले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् ।
नोरा आजमात्रै काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी थिइन् ।
‘म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो’, उनले भनेकी थिइन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।