अर्थ मन्त्रालय धमाधम बजेट वक्तव्य लेखनको तयारीमा
८ जेठ काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य लेखनको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित रहेको उनले बताए ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ ।
बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्राथमिकतामा राखिएको छ ।जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।