गाजामा २९ बच्चा र बृद्धको भोकमरीबाट मृत्यु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०८२
1.5K
SHARES

९ जेठ काठमाडौं । प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले गाजामा २९ बच्चा तथा बृद्धहरूको भोकमरीका कारण मृत्यु भएको बताएका छन् । अन्य हजारौँ व्यक्ति अहिले पनि जोखिममा रहेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।११ हप्ताको नाकाबन्दीपछि इजरायलले खाद्यान्न बोकेका ट्रकहरू गाजा प्रवेश गर्न दिएपछि बिहीबार गाजाबासीहरूलाई खाद्यान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तर, प्यालेस्टिनी तथा मानवीय सहयोग निकायहरूले यो खाद्यन्न आवश्यकताको तुलनामा सानो अंश मात्र भएको बताएका छन् ।“हालैका दिनहरूमा भोकमरीका कारण हामीले २९ जना बच्चा गुमायौँ,” प्यालेस्टिनी स्वास्थ्य मन्त्री माजेद अबु रमादानले पत्रकारहरूलाई भने । उनले यो संख्यामा बृद्धहरू पनि भएको बताएका छन् ।

यूएनको मानवीय सहयोग प्रमुखले समयमा सहयोग नपुगे १४ हजार बच्चाहरूको ज्यान जानसक्ने बीबीसीलाई बताएकोमा प्रतिक्रिया माग्दा उनले भने, “१४ हजारको संख्या धेरै यथार्थपूर्ण छ । यो आंकलनको तल्लो बिन्दु हो ।”इजरायलले मार्चमा सबै खाद्यन्न आपूर्तिमा नाकाबन्दी लगाएको थियो । यो महिनाको सुरुमा, विश्वभरिका मानवीय सहयोग संस्थाहरूले गाजा पट्टीमा पाँच लाख मानिस भोकमरीको अवस्थामा रहेको बताएका थिए ।

अबु रमादानले गाजाका ३६ वटा अस्पतालमध्ये केवल सात वा आठवटा मात्र आंशिक रूपमा संचालनमा रहेको बताए । नाकाबन्दीका कारण ९० प्रतिशतभन्दा बढी चिकित्सा सामग्री सकिएको बताए ।

“मेरो जानकारीमा आएअनुसार गाजाभित्र धेरै कम मात्र सामान आइपुगेको छ । दक्षिण तथा मध्य क्षेत्रहरूमा केबल ९० देखि १०० वटा ट्रक आएका छन् । यसमा चिकित्सा सामग्री छ कि छैन भनेर प्रश्न गर्दा उनले भने, “मेरो जानकारी अनुसार यो केवल बेकरीहरूका लागि पिठो मात्र हो ।”