अनुसन्धानमा अलमल नहोस्, दोषी दण्डित हुनैपर्छ – महामन्त्री थापा
१४ जेठ काठमाडौं । भिजिट भिसाबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुसन्धानमा अलमल नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेका छन् ।धरानमा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएको र शोषणमा परेको सार्वजनिक भइरहेका बेला यो कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने देखिएको बताए ।
“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमा अनुसन्धान थालेको छ । कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ,” उनको भनाइ थियो ।
गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर चर्चा(परिचर्चा भइरहेको छ । यसरी नाम जोडिएर चर्चा भइसकेपछि पदमा रहिरहन मिल्छ कि मिल्दैन ? अनेकन कोणबाट बहस भइरहेको हुँदा त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बताउँदै त्यसैले हरेक वर्ष अनेकन विषयमा हजारौंको संख्यामा अधिकारीहरू माथि अनुसन्धान भैइरहेको हुन्छ ति मध्ये कसैलाई अभियोजन हुन्छ कसैलाई हुँदैन, यो नियमित प्रक्रिया भएकाले यसमा सबैले सहयोग पुर्याउनुपर्ने बताए ।
“वर्तमान सरकारकै पनि दर्जनौ मन्त्रालयका सयौं अधिकारी माथि अहिले अनुसन्धान भै रहेको छ, जुन निकाय वा जो माथि अनुसन्धान भैइरहेको छ सम्बन्धित विषयसँग उनीहरु नै जोडिन्छ,” उनले भने, “अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने, अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिंदै जान्छन् ।”