हाम्रो आन्दोलन यथावत् छ – माओवादी केन्द्र


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०८२
1.4K
SHARES

१६ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका छन् । देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसद्मा बजेट प्रस्तुत गर्न दिएको उनले बताए । उनले आफूहरूका माग हल गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गरे ।

“हामीले १५ गतेका तीनवटा कार्यक्रमका लागि मात्रै संसद्लाई अगाडि बढाउन दिएका हौँ । त्यसपछि हाम्रो आन्दोलन यथावत् छ,” उनले भने, “त्यो विषय बदमासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु छ । यसलाई करेक्सन नगरी हामी आफ्नो ठाउँमा जान सक्दैनौँ ।”

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरिएको र यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता रहेको आरोप लगाउँदै विपक्षीले उनको राजीनामा माग गर्दै आएका छन् ।