२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति , २३.१ प्रतिशत बढ्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
1.2K
SHARES

२७ जेठ काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ । गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको छ ।

वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असार मसान्तसम्मको तुलनामा २०.५ प्रतिशतले बढेको हो ।
कुल सञ्चिति रकममध्ये राष्ट्र बैंकमा २२ खर्ब ११ अर्ब ११ करोड छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।