दीया पुनले गरिन् युरोपकै अग्लो माउन्ट एल्ब्रुसको सफल आरोहण


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०८२
1.1K
SHARES

२९ जेठ काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दीया पुनले युरोप महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रुस (५ हजार ६४२ मिटर) आरोहण गरेकी छन् ।नर्ससमेत रहेकी अभिनेत्री पुनले यो साहसिक यात्रा जुन १० मा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइडहरू लिउन अताबिएभ तथा एड्गरसँग संयुक्त रूपमा सम्पन्न गरेकी हुन् ।

माउन्ट एल्ब्रुसको सफल आरोहणसँगै पुनले ‘सेभेन समिट्स’ अर्थात् सातै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने आफ्नो लक्ष्यतर्फ एक कदम अघि बढेकी छन् ।हालसम्म उनले चार महादेशका अग्ला हिमाल माउन्ट एभरेष्ट (एसिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका) र हालै आरोहण गरेको माउन्ट एल्ब्रुस (युरोप) सफलतापूर्वक चढिसकेकी छन् ।

उनका आगामी लक्ष्य बाँकी तीन शिखर कास्र्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका) र माउन्ट विन्सन (अन्टार्कटिका) हुन् ।यो अभियानमा उनले आफू अभिनित चलचित्र ‘एक्लो’को पोस्टर र नेपालको राष्ट्रिय झन्डा पनि शिखरसम्म पुर्‍याएकी निर्माण टिमले प्रेस नोटमा उल्लेख गरेको छ । चलचित्र ‘एक्लो’ मा उनले पुन नामक अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् ।