अमेरिकी अर्बपति बेजोस र सान्चेजको विवाहले भेनिसमा सेलिब्रिटीको भीड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
1.3K
SHARES

१३ असार काठमाडौं । अमेजनका संस्थापक तथा अमेरिकी अर्बपति व्यापारी जेफ बेजोस र पूर्वपत्रकार लरेन सान्चेजले यो सप्ताहान्त इटालीमा विवाह गर्दैछन् ।यसै सन्दर्भ बिहीबार विवाहको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमका लागि इटालीको भेनिसमा विभिन्न स्टार सेलिब्रेटीहरूको सूची सार्वजानिक भएको सीबीएस न्युजले जनाएको छ ।बेजोस र सान्चेजको विवाह समारोह भने शनिबार इटालीको भेनिसकै एक गोप्य स्थानमा तय गरिएको बताइएको छ ।

तर, बिहीबारको कार्यक्रमका लागि मडोना डेलअर्टो चर्चमा रहेका चलचित्र स्टारहरू, टेलिभिजन व्यक्तित्वहरू र व्यापारिक हस्तीहरू इटालीको भेनिस आइपुगेका बताइएको छ । मिडिया रिपोर्टहरूका अनुसार करिब २०० पाहुना सहभागी हुनेछन् ।

सहभागीहरूमा ओप्रा विन्फ्रे, लियोनार्डो डिक्याप्रियो, ओरल्यान्डो ब्लूम, किम कार्दशियन, टम ब्राडी आदि रहेको बताइएको छ ।धेरै प्रभावशाली स्टार हरूको अचानक आगमनले भेनिसका स्थानीयहरूबाट विरोध भएको र ‘नो स्पेस फर बेजोस’ अभियान नै चलेको समाचारमा बताइएको छ ।

यो अभियान युरोपमा रहेका पर्यटकहरूमा रहेको असन्तुष्टिका कारण चलेको समाचारमा उल्लेख छ । कतिपयले बेजोस र सान्चेजको विवाहमा आउने सहभागिका कारण यात्रालागत र भाडा वृद्धि भएको आरोप लगाइरहेका छन् । ६१ वर्षका बेजोस ५५ वर्षकी सान्चेज दुवैको यो दोस्रो विवाह हो ।

बेजोसले यसअघि परोपकारी म्याकेन्जी स्कटसँग विवाह गरेका थिए । तर, उनीहरूले २०१९ मा सम्बन्धविच्छेद गरेका थिए । सान्चेजको पहिलो विवाह प्रतिभा फर्म एन्डेभरका कार्यकारी अध्यक्ष प्याट्रिक ह्वाइटसेलसँग भएको थियो । उनीहरूले पनि २०१९ मा सम्बन्ध तोडेका थिए ।