बैंकहरु कर्जा असुलीमा केन्द्रित


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १६ २०८२
1.3K
SHARES

१६ असार काठमाडौं । असार महिनासँगै बैंक तथा वित्तीय संस्थाहरू कर्जा प्रवाहभन्दा कर्जा असुलीमा बढी केन्द्रित भएका छन् । जस कारण अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता बढ्न थालेको छ । सोही कारण बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घट्दै गएको देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत बिहीबारसम्म बैंकहरूको औसत सीडी रेसियो ७८.०५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ०.०८ प्रतिशत अंकले घटेको हो।

हाल बैंकहरूले नियामक सीमा अनुसार ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्दै कर्जा प्रवाह गर्न सक्ने कानुनी व्यवस्था भए पनि, पुँजी कोषको दबाब र देशको समग्र आर्थिक शिथिलताका कारण अपेक्षाअनुसार कर्जा विस्तार हुन नसकेको विश्लेषण गरिएको छ।

निक्षेपमा तीव्र वृद्धि, कर्जामा सुस्त विस्तार

गत बिहीबार मात्र बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ। बुधबारसम्म ७० खर्ब ३५ अर्ब रुपैयाँ रहेको निक्षेप बिहीबार ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

त्यसैदिन कर्जा प्रवाह भने मात्र १ अर्ब रुपैयाँले बढेको छ। बुधबारसम्म ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेकोमा बिहीबारसम्म ५५ खर्ब ७५ अर्ब रुपैयाँमा पुगेको छ।वाणिज्य बैंकको विवरणअनुसार, बिहीबारसम्म वाणिज्य बैंकहरूले ६३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। सोही अवधिमा उनीहरूले ४९ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।