९ महिना ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्याउने समय थपिँदै
२० असार काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्याउने समय थप गरिने भएको छ । असार मसान्तसम्मको समय सीमा सकिँदै गर्दा ९ महिना थप्ने तयारी भएको हो ।धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी पुर्याउने समय चैत मसान्तसम्म कायम गर्ने भएको हो । नियमावली संशोधन गर्न अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ ।‘धितोपत्र ब्रोकर मर्जरसम्बन्धी निर्देशिका केही ढिला आएकाले पनि चुक्ता पूँजी बढाउने अवधि चैत मसान्तसम्म कायम गर्नेगरी नियमावली संशोधन गर्न प्रस्ताव गरेका छौं’ प्रवक्ता निरञ्जय घिमिरेले भने ।
बोर्डले ब्रोकर कम्पनीलाई चुक्ता पूँजी बढाउनेगरी समयावधि पहिले नै तोके पनि मर्जरबाट पूँजी पुर्याउने सम्बन्धी निर्देशिका भने गत चैतमा मात्रै तयार गरेको थियो ।सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड तथा पूर्ण कार्य गर्नेका लागि ६० करोड रुपैयाँ तोकिएको छ । पछिबाट थपिएका नयाँ ब्रोकर कम्पनी सबैले तोकिएको चुक्ता पूँजी पुर्याए पनि पुराना अधिकांशको पुगेको छैन । पछिबाट सञ्चालनमा आएका ४० सहित अहिले कुल ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।
५० पुराना ब्रोकर कम्पनीमध्ये दुई दर्जन कम्पनीले चुक्ता पूँजी पुर्याउन बाँकी रहेको बोर्डले जनाएको छ । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउनुअघि सीमित कार्य गर्नेका लागि जम्मा २ करोड चुक्ता पूँजी तोकिएको थियो भने पूर्ण कार्य गर्नेका लागि २० करोड थियो ।चुक्ता पूँजी वृद्धिका लागि मर्जर एउटा विकल्प भए पनि यस सम्बन्धी निर्देशिका बोर्डले गत चैतमा मात्रै तयार गरेको थियो । जसले गर्दा मर्जरमा गएर पूँजी पुँजी पुर्याउन चाहनेलाई समयसीमा नै अपर्याप्त हुन गयो ।
‘मर्जरमा जानका लागि पनि कम्पनीको साधारणसभाले निर्णय गर्नुपर्ने हुन्छ, निर्देशिका आइसकेपछि बल्ल साधारणसभाले निर्णय गर्न सक्छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने ‘निर्देशिका चैतमा ल्याउने, अनि असार मसान्तभित्र पूँजी पुर्याउनू भन्नु व्यवहारिक थिएन ।’चैत मसान्तसम्म भने ब्रोकर कम्पनी पूँजी पुर्याउन सक्षम हुने उनले बताए । अधिकांश ब्रोकर कम्पनीले हकप्रद तथा बोनस सेयर जारी गरेर नै पूँजी पुर्याउने उनको भनाइ छ ।मर्जर वा एक्विजिनमा जाने ब्रोकर कम्पनीबीच सम्झौता भएको ६ महिनाभित्र सम्पन्न हुनुपर्ने व्यवस्था धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकामा उल्लेख छ ।