म्युचुअल फन्डको लगानी ४८ अर्ब पुग्यो
२३ असार काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । जेठ मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ४८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।दुई महिनामै बजारमा उनीहरूको लगानी रकम २ अर्ब ४६ करोड रुपैयाँ बढेको छ । चैत मसान्तसम्म फन्डले कुल ४५ अर्ब ९१ करोड रुपैयाँ बजारमा लगानी गरेका थिए ।
फन्डहरूको कुल सम्पत्तिमा सेयर बजारमा भएको लगानी रकम ७२ प्रतिशत हो । जेठ मसान्तसम्म म्युचुअल फन्डको कुल कोषको आकार ६३ अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको छ । चैत मसान्तसम्मको तुलनामा कुल कोषको आकार ६.७५ प्रतिशत बढेको छ । चैत मसान्तसम्म कुल कोष आकार ५९ अर्ब ६९ करोड रुपैयाँ थियो ।
जेठ मसान्तसम्म फन्डले ४ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गरेका छन् भने १० अर्ब ४२ करोड रुपैयाँ नगदमा छन् । फन्डले बढीमा १५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन् ।
थप केही म्युचुअल फन्ड सञ्चालनमा आएसँगै कुल सम्पत्ति र लगानी रकम बढेको हो । जेठ मसान्तसम्म कुल ३८ वटा बन्दमुखी योजना र ८ वटा खुलामुखी योजना सञ्चालनमा छन् ।