प्राधिकरणको १० अर्ब ऋण सहमतिको फाइल ऊर्जामा


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २३ २०८२
1.7K
SHARES

२३ असार काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नयाँ कार्यकारी निर्देशक बन्न साथ हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रकारको भुक्तानी दिन १० अर्ब ऋण लिने बताएका थिए । त्यसका लागि उनले त्यो प्रक्रिया अगाडि पनि बढाएका थिए ।प्राधिकरणबाट ऋण लिने फाइल ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालय स्वीकृतिका लागि गएको थियो । अर्थ मन्त्रालयले १० अर्ब ऋण लिनका लागि स्वीकृति दिएर फाइल ऊर्जा मन्त्रालय पठाएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले अर्थ मन्त्रालयबाट १० अर्ब ऋण लिनको लागि स्वीकृति आएको बताए । उनले भने, ‘यही आर्थिक वर्षमा नै ऋण लिएर ठेक्का लगाएको भुक्तानी दिनु पर्ने छ । त्यो भुक्तानी यही आर्थिक वर्षमा गर्ने हो ।’

यही आर्थिक वर्षभित्र नै ऋण लिएर भुक्तानी दिनु पर्ने ठाउँमा प्राधिकरणले भुक्तानी दिने भने पनि अब यस आर्थिक वर्ष सकिन जम्मा ९ दिनमात्रै बाँकी रहको छ । अब समय कम भएकाले सहज नभएको शाक्य बताउँछन् । अर्थबाट १० अर्बको ऋण लिन फाइल स्वीकृत भएर आए पनि त्यो फाइल ऊर्जा मन्त्रालय आएर रोकिएको छ ।

मन्त्रालयका प्रवक्ता सागरराज गौतमले अर्थ मन्त्रालयबाट विद्युत् प्राधिकरणले लिने भनेको ऋणको लागि स्वीकृत भएर ऊर्जा मन्त्रालय आएको बताए ।उनले भने, ‘अर्थ मन्त्रालयबाट ऋणको लागि स्वीकृत भएर आएको छ । अब ऋणको लागि मन्त्रीस्तरीय निर्णय गर्ने कि मन्त्रिपरिषद् फाइल लैजाने भन्ने विषयमा छलफल भइरहेको छ । सायद १० अर्ब ऋण लिने फाइल मन्त्रिपरिषद् नै जान्छ होला ।’