महिला युरोपियन च्याम्पियनसिप : स्पेन क्वार्टरफाइनलमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २४ २०८२
1.6K
SHARES

२४ असार काठमाडौं । बेल्जियमविरुद्ध ६–२ को सहज जित निकाल्दै फिफा विश्वकप विजेतासमेत रहेको स्पेनले यूईएफए महिला युरो–२०२५ मा क्वार्टरफाइनल यात्रा तय गरेको छ ।सोमबार राति स्विट्जल्यान्डको स्टोकहर्न एरिनामा भएको खेलमा स्पेनलाई जित दिलाउन एलेक्सिया पुटेयसले दुई गोल गरिन् । एरेन पाराडेज, एस्थेर गोन्जालेज, मारिओना काल्डेन्टी र क्लाउडियो पेनाले समान एक–एक गोल थपिन् । बेल्जियमकी जस्टिन र हान्नाह युरलिंग्सले गोल गरे पनि टिमको हार टार्न सकिनन् ।

खेलमा स्पेनले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा बेल्जियमले एक गोल थप्दा स्पेनले चार गोल गरेको हो । जितसँगै समूहको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनल यात्रा तय गरेको स्पेनले समूह ‘बी’मा दुई खेलबाट ६ अंक जोडेको छ । समान खेल खेल्दा पनि अंकविहीन बेल्जियम भने तालिकको पुछारमा छ । हारसँगै समूहबाट बेल्जियमको अन्तिम ८ पुग्ने सम्भावना पनि समाप्त भएको छ ।सोमबार राति नै भएको अर्को खेलमा इटालीविरुद्ध पुनरागनम बराबरी गरेसँगै पोर्चुगलले भने समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको छ ।

स्विट्जरल्यान्डको स्टेट डे जेनेभामा भएको खेलमा इटालीले ७०औँ मिनेटमा क्रिस्टियना गिरेलीको गोलमा अग्रता बनाएको थियो । तर, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा डियना गोमेजले गोल गरेपछि पोर्चुगलले हार टारेको हो । इन्जुरी समयमा एना बोर्गेसले रातो कार्डको दर्शन गर्दै मैदान छोडे पनि त्यसले पोर्चुगललाई प्रभावित बनाएन ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको इटालीले समूह चरणको अन्तिम खेलअगावै क्वार्टरफाइनल पुग्ने मौका गुमाएको छ । समान खेलबाट एक अंक जोडेको पोर्चुगलले क्वार्टरफाइनल सम्भावना कायम राख्न समूह चरणको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।