विद्या भण्डारीको वेबसाइट सार्वजनिक
३२ असार काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट (www.bidhyadevibhandari.com.np) औपचारिक रूपमा सार्वजनिक गरिएको छ । मंगलबार वेबसाइट सार्वजनिक गरिएको हो ।”यो वेबसाइट पूर्वराष्ट्रपति भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू, र सम्बन्धित अभिलेख एवं दस्ताबेजहरूलाई एकै स्थानमा संग्रहित गर्दै सर्वसाधारणका लागि सहज पहुँचयोग्य बनाउने उद्देश्यले तयार पारिएको हो,” पूर्वराष्ट्रपतिको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वेबसाइटले पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैंगिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा पुर्याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने लक्ष्य राखिएको जनाइएको छ ।समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास लिइएको छ ।