‘क्रेडिट स्कोर’को आधारमा बैंकबाट ऋण पाउने व्यवस्था हुँदै
१ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षदेखि क्रेडिट स्कोरका आधारमा व्यक्तिलाई कर्जा दिने व्यवस्था गर्न लागेको छ । २०८१ को मौद्रिक नीतिमा पनि राष्ट्र बैंकले क्रेडिट स्कोरका आधारमा ऋण दिने व्यवस्था गरेको थियो । त्यसबेला कार्यान्वयनमा आएको थिएन । केन्द्रीय बैंकले आगामी आर्थिक व्यक्तिलाई ऋण दिने गरी क्रेडिट स्कोर कार्यान्वयनमा ल्याउने भएको हो । राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको बुँदा नम्बर १०३ मा बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको क्रेडिट स्कोरको आधारमासमेत कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।
राष्ट्र बैंकका प्रवत्ता तथा कार्यकारी निर्देशक किरण पण्डित संसारभरी क्रेडिट स्कोरका आधारमा व्यक्तिगत ऋण लगानी भइरहेकाले नेपालमा पनि सुरु गर्न लागेको बताउँछन् । यसका लागि पूर्वाधार तयारी गर्नुपर्ने प्रवत्ता पण्डित बताउँछन् । लघुवित्त संस्थामा ऋण दिने बेला व्यक्तिको क्रेडिट हिस्ट्री हेरेर ऋण दिने गरिएको उनले सुनाए । स्कोर राम्रो भएपछि व्यक्तिले विनाधितो नै बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा ऋण पाउने छन् ।
क्रेडिट स्कोरमा व्यक्तिको वित्तीय आचरणलाई हेरेर राम्रो देखिए ऋण दिन सकिने उनको भनाई छ । “खानेपानी, बिजुली, टेलिफोन महशुललगायत अन्य युटिलिटी भुक्तानी अवस्था हेरेर स्कोर निर्धारण गरिन्छ । ग्राहकलाई कसरी चिन्ने भन्ने क्रेडिट स्कोरको मुख्य कुरा हो,” उनले भने । क्रेडिट स्कोर राम्रो बनाउन व्यक्तिले अब नेपाल विद्युत प्राधिकरणलाई बिजुली, आन्तरिक राजस्व विभागमा कर, नेपाल टेलिकमलाई टेलिफोन र ट्राफिक जरिवाना समयमै तिरेको हुनुपर्ने छ । यस्तै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले बैंकमा समयमै किस्ता भुक्तानी गरेको प्रमाणित भएपछि ऋण पाइने भएको छ ।
यस्ता युटिलिटी प्रयोग गरेवापत समयमा भुक्तानी नगर्नेले स्कोरका आधारमा ऋण पाउने संभावना हुँदैन । व्यक्तिको स्कोर घट्दै जान्छ । क्रेडिट स्कोरिङ गरे बैंकलाई राम्रो ऋणी पहिचान गर्न धेरै सहज हुन्छ ।