२० अर्बले घट्यो घाटा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २ २०८२
1.3K
SHARES

२ साउन काठमाडौं । ऋणात्मक अवस्थामा रहेको सरकारको सञ्चित कोषको घाटा सुधारोन्मुख देखिएको छ।  महालेखा नियन्त्रकको कार्यालयका अनुसार संघीय सञ्चित कोषको ऋणात्मक अवस्था गत वर्ष २ खर्ब ४ अर्बमा झरेको हो।  गत आवको सुरुवातमा यस्तो घाटा २ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको अन्त्यतिर घटेर २ खर्ब ४ अर्ब रुपैयाँमा आइपुगेको छ।  आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म सञ्चित कोष २ खर्ब ४४ अर्बले घाटामा थियो। तुलनात्मक रुपमा गत आवमा कोषको सञ्चित घाटामा सुधार देखिएको छ।

सरकारले अनुमान गरेअनुसार नै आम्दानी देखिएपछि सञ्चित कोषको घाटामा थोरै सुधार देखिएको हो। गत आवमा सरकारले राजस्व र अन्य आम्दानीबाट सञ्चित कोषमा १२ खर्ब ६० अर्ब आम्दानी गर्ने लक्ष्य राखेकोमा १० खर्ब ५३ अर्ब रुपैयाँ मात्रै आर्जन गरेको छ। यो रकम सरकारको वार्षिक लक्ष्यको ३.५ प्रतिशत हो।

यस्तै अनुदान प्राप्ति शीर्षकबाट ५२ अर्ब ३२ करोड रुपैयाँ सञ्चित कोषमा राख्ने लक्ष्य राखेको सरकारले असार मसान्तसम्म २३ अर्ब ५२ करोड रुपैयाँ मात्रै सञ्चित देखिएको छ।योबाहेक वित्तीय व्यवस्था, ऋण लगानी फिर्ता, वैदेशिक ऋण तथा आन्तरिक ऋण ) मार्फत ५ खर्ब ४७ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखे पनि ४ खर्ब ६६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।समग्रमा गत आवमा सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो। सोहीअनुसार बजेट ल्याएको सरकारले आर्थिक वर्ष सकिँदासम्म भने लक्ष्यको ८२.९५ प्रतिशत मात्रै आम्दानी गर्न सफल देखिएको छ। गत आवमा सरकारले सञ्चित कोषमा १५ खर्ब २३ अर्ब मात्र रकम ल्याउन सफल बनेको छ।

यो आवमा खर्चतर्फ भने सरकारले ११ खर्ब ४० अर्ब चालू खर्च गर्ने लक्ष्य राखेकोमा त्यसको ८५.९५ प्रतिशत खर्च गर्न सफल बनेको छ। पुँजीगत खर्चतर्फ भने ११ खर्ब ४० अर्ब खर्च गर्ने लक्ष्य लिए पनि सोको ८५.९५ प्रतिशत अर्थात् ९ खर्ब ८० अर्ब मात्रै खर्च गर्न सफल देखिएको हो। गत आवमा सरकारले वित्तीय खर्च भने लक्ष्यको ८७.१३ प्रतिशत मात्रै गरेको छ। त्यस्तै ३ खर्ब ६७ अर्ब वित्तीय खर्च गर्ने लक्ष्य लिएको सरकारले ३ खर्ब २० अर्ब रुपैयाँ खर्च गरेको छ।