१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ११ २०८२
1.1K
SHARES

११ साउन काठमाडौं । सुदूरपश्चिमका १३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।शंकरपुर क्याम्पस पस्ती, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस हाँट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर सहित सुदूरपश्चिमका विभिन्न १३ क्याम्पसलाई आंगिक बनाउन ध्यानाकर्षण गरिएको अनेरास्ववियु केन्द्रिय कमिटी निर्वतमान उपाध्यक्ष गोविन्द गिरीले बताए ।

पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२÷०८३ मा आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ ।‘सत्यसित नलड्ने र शक्तिसित नझुक्ने’ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।

प्रतिनिधिमण्डलले दार्चुलाको शंकरपुर क्याम्पस पस्तीसहित, भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस डोटी, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुर, पुचौडी बहुमुखी क्याम्पस हाँट बैतडीलाई आंगिक बनाउन भनिएको छ ।

यस्तै बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भिमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न माग गरिएको छ।

सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने गिरिले बताए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै आत्मनिर्भर राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । सोही अनुसार क्याम्पस समायोजनको प्रक्रिया पनि तत्काल अगाडि बढाउन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।