पालुङटार नगरपालिका बन्यो गण्डकी प्रदेशमै उत्कृष्ट नगरपालिका
८ भदौं काठमाडौं । गाेरखाकाे पालुङटार नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट हुन सफल भएकाे छ । माओवादी केन्द्रले जितेको पालुङटारले नगरपालिका नगरपालिकाको श्रेणीमा गण्डकी प्रदेशमा प्रथम स्थान प्राप्त गरेको छ भने समग्र मूल्याङ्कनमा गण्डकी प्रदेशमा तृतीय स्थानमा उक्लिएको छ। त्यस्तै, गोरखा जिल्लाभित्र पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाले समान ८७.७५ अंक ल्याउँदै प्रथम स्थानमा संयुक्त रूपमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
यो उपलब्धि सम्पूर्ण नगरवासीका लागि गर्वको विषय भएको नगरपालिकाले जनाएको छ। यो उपलब्धि पारदर्शी, उत्तरदायी र नागरिकमैत्री सेवा प्रवाहमा पालुङटार नगरपालिकाको प्रतिबद्धताको प्रमाण भएको नगर प्रमुख विवस चिन्तनले बताए। उनले भने, “नीति निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधि, कर्मचारी र समुदायबीचको सक्रिय समन्वय र सहभागिताका कारण यो सफलता सम्भव भएको हो।”
नगरपालिकाले सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र संस्थागत क्षमता विकासमा निरन्तर सुधार गर्दै आएको र अब आगामी वर्षहरूमा यस उपलब्धिलाई अझ स्थायी र प्रभावकारी बनाउन चुनौती रहने जनाएको छ। नगर प्रमुख चिन्तनले यो सफलताको लागि सम्पूर्ण नगरवासी, कर्मचारी, जनप्रतिनिधि र सहयात्रीहरूलाई धन्यवाद ज्ञापन गर्दै पालुङटार नगरपालिकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।