सहुलियतपूर्ण कर्जा : ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२
1.4K
SHARES

१३ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो निर्देशन जारी गरिएको हो । “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२” बमोजिम प्रवाहित कर्जामा नेपाल सरकारबाट प्रदान गरिएको अनुदान रकम यस बैंकले उपलब्ध गराउँछ । उक्त कार्यविधि बमोजिम कर्जा प्रवाह गरी नेपाल सरकारबाट पाउनु पर्ने ब्याज अनुदान वापतको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि सरकार माथिको दाबी सरह शून्य प्रतिशत जोखिम भार प्रदान गर्न सकिने व्यवस्था छ ।

‘बैंक तथा वित्तीय संस्थाले “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम हाल कायम रहेका ऋणी र “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२” बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको छुट्टाछुट्टै विवरण आफ्नो वेबसाइटमार्फत त्रैमासिक रूपमा सार्वजनिक गर्नु पर्नेछ’, संशोधित निर्देशनमा भनिएको छ ।