भ्रमणले चीनसँगको सम्बन्ध थप सुदृढ हुनेछ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२
1.5K
SHARES

१३ भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले चीनसँगको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । “यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससीओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने मैले विश्वास लिएको छु,” उनले भने ।

आफ्नो चीन भ्रमण दलमा श्रीमती राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुने जानकारी उनले दिए । प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ गतेसम्म चीनको भ्रमण गर्दैछन् । सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् ।