जनतामाझ फेरि विश्वास हासिल गर्दै छौँ – प्रचण्ड
१६ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई निर्देशन दिएका छन् । आज पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहे पनि संगठनमा रूपान्तरण गर्न नसके दीर्घकालीन उपलब्धि नहुने बताए । उनले भने, “सचिवालय र इन्चार्ज कमरेडले भौतिकरूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो । तर, महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्यो । दसैँपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु ।”
प्रचण्डले सबै जिल्ला संयोजक र इन्चार्जको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । “अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ,” उनले भने ।त्यसैगरी, उनले पार्टीभित्र आत्मसमीक्षा र आलोचना–आत्मआलोचनाको संस्कृतिलाई बलियो बनाउँदै हरेक कमरेडले विगतका कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको दाबीसमेत गरे ।उनले भने, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ । अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ ।”
बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले भने, “हाम्रो पार्टीमात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुलारूपमा राख्न सक्ने अवसर पाउँछन् । पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ ।”