तातोपानी नाका खुल्दै बन्द हुँदै
१९ भदौ काठमाडौं । ल्हेन्दे खोलामा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने पुल बगाएपछि गत असार २४ देखि रसुवागढी नाका बन्द छ । बाढीले नेपाल–चीन जोड्ने पुल बगाउनुका साथै नेपालतर्फ सडकमा ठूलो क्षति भएको छ । बन्द भएको नाका सञ्चालनमा कहिले आउने हो अझै अनिश्चित छ । नाका खोल्न नेपाल र चीन दुबैतर्फ काम भइरहेको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । ल्हेन्दे खोलामा चिनियाँ प्राविधिकले अस्थायी पुल (बेलिब्रिज) जडान गरिरहेको छ । यस्तै नेपालतर्फ क्षतिग्रस्त सडक मर्मतको काम भइरहेको उनले सुनाए । सकेसम्म दसैं अगावै नाका सुचारु गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।
“काम भइरहेकाले रसुवागढी नाका कहिले खुल्छ अहिले नै भन्न सकिने अवस्था छैन, सकेसम्म दसैंअगावै नाका खुलाउने तयारीमा छौं,” उनले भने । पक्की पुल बनाउन साबिकको स्थानलाई छाडेर दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई असर नपर्ने गरी बेलीब्रिज राख्ने काम भएको छ । बेलीब्रिज निर्माण यही भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ पक्षले जानकारी गराएको छ ।
बाढीबाट १० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुलमा क्षति पुगेको थियो भने सीमा नजिक रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको बाँधसमेत बगाएको छ । जलविद्युत आयोजना अहिले बन्द छ । आयोजना मर्मत गर्न थप एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बाढीले पुल बगाएपछि नेपालमा सामान लिएर आएका ट्रकहरु चीनतर्फ रोकिएका छन् ।
तातोपानी नाका खुल्दै बन्द हुँदै
नेपाल–चीन जोड्ने अर्को तातोपानी नाका पनि कहिले खुल्ने र बन्द हुने गरेको छ । वर्षा हुनासाथ पहिरो गएर कोदारी राजमार्ग बन्द हुने गरेको छ भने स्क्याभेटरले पुनः सडक खुलाउने काम गरेको छ ।
तातोपानी नाका खुल्ने र बन्द हुने क्रम जारी रहेको विभागका महानिर्देशक भण्डारीले जानकारी दिए । भदौको पहिलो साता तातोपानीनजिक ठूलो पहिरो जाँदा २०० मिटर सडक अवरुद्ध भएपछि नाका बन्द भएको थियो ।