आठ अर्ब मात्रै भित्रियो वैदेशिक लगानी


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
1.2K
SHARES

२३ भदौ काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो। आर्थिक वर्ष २०७९/८० को तुलनामा ३६.१ प्रतिशतले यसमा वृद्धि भएको हो। सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो। देशमा भित्रने वैदेशिक लगानी दर वृद्धि भएको देखिएपनि यो तीन वर्ष अघिको अवस्थामा समेत पुग्न सकेको छैन। आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो। विगत १२ वर्षयता १९ खर्ब ५० अर्बसम्म वार्षिक वैदेशिक लगानी भित्रिएको देखिन्छ।

आर्थिक वर्ष २०७६/७७  र २०७७/७८ दुबै समयमा यही दरमा वैदेशिक लगानी भित्रिएको थियो। आर्थिक वर्ष २०८०/८१ मा मुलुकबाट १२ अर्ब ५७ करोड रूपैयाँ लाभांशको रूपमा यस्ता वैदेशिक लगानीकर्ताले फिर्ता लगेका छन्। उत्पादनमूलक क्षेत्रमा भएको लगानीबाट यसरी लाभांशको रूपमा सबैभन्दा धेरै रकम फिर्ता गएको छ। सो वर्ष आठ अर्ब ९६ करोड रूपैयाँ फिर्ता गएको हो।   राष्ट्र बैंकले अनुमति दिएका वैदेशिक लगानीका कम्पनीहरूको मात्रै तथ्यांक भएकोले यो उद्योग विभागको तथ्यांकभन्दा केही फरक पर्न सक्ने उल्लेख गरिएको छ।

वैदेशिक लगानी स्वीकृत हुने दरभन्दा भित्रने दर अझै कम छ। विगत २९ वर्षमा पाँच खर्ब १२ अर्ब रूपैयाँ वैदेशिक लगानी स्वीकृत भएकोमा एक खर्ब ६३ अर्ब रूपैयाँ मात्रै भित्रिएको छ। स्वीकृत लगानीको ३१.९ प्रतिशत मात्रै वैदेशिक लगानी भित्रिएको हो। नेपालले ६० मुलुकबाट वैदेशिक लगानी प्राप्त गर्दै आएको छ। यी मध्ये भारत, चीन, सिंगापुर, आयरल्याण्ड, दक्षिण कोरिया प्रमुख पाँच राष्ट्रमा पर्छन्। हाल भारतबाट भएको वैदेशिक लगानी एक खर्ब सात अर्ब रूपैयाँ छ। चीनबाट ३३ अर्ब, सिंगापुरबाट २७ अर्ब, आयर ल्याण्डबाट ३३ अर्ब, दक्षिण कोरियाबाट २० अर्ब पुगेको छ।

यो रकम कम्पनीहरूमा भएको सेयर लगानी, यस्ता कम्पनीमा रहेको जगेडा कोष र यी मुलुकबाट भएको ऋण लगानी वापतको रकम हो। यो रकम सम्बन्धित मुलुकको सरकारबाट नेपालले प्राप्त गर्ने ऋण लगानी भने होइन। भारतबाट सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ३८.६ प्रतिशत, विद्युत्, ग्यास क्षेत्रमा ३३.६ प्रतिशत र बैंक बीमा जस्ता क्षेत्रमा १८.६ प्रतिशत लगानी रहेको छ। चीनबाट भने विद्युत्, ग्यास क्षेत्रमा सबैभन्दा धेरै ८५.९ प्रतिशत, उत्पादनमुलकमा ३३.९ प्रतिशत लगानी छ।