कुवेतविरुद्ध नेपालको सहज जित


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
1.2K
SHARES

२३ असोज काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध ५८ रनको जित निकालेको छ । यो जितसँगै नेपालले प्रतियोगिताको सुपर–६ सम्भावनालाई बलियो बनाएको छ ।बुधबार ओमानको अल अमेरितमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।

कुवेतलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।कुवेतका ओपनर क्लिन्टो एन्टोले २६ रन बनाए । यासिन पटेलले १९ र मित भावसरले ११ रन थपे । यसबाहेक, कुवेतका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । कुवेतका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए ।

त्यसअघि टस जितेर कुवेतले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रनको योगफल खडा गरेको थियो ।नेपालबाट ओपनिङदेखि अन्तिम ओभरसम्म क्रिजमा उभिएका भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ५६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १२औँ अर्धशतक हो । भुर्तेललाई २०औँ ओभरको पाँचौँ बलमा कुवेतका अनुदीप चन्दमाराले बोल्ड गरेका थिए ।

यस्तै, आक्रामक ब्याटिङ गर्दै गुल्सन झाले ६ बलमा २० रन बनाए । उनले यसक्रममा तीन छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले पनि २० रन थप्दा कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । नेपालका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।कुवेतका अनुदीप र नविनराज राजेन्द्रनले समान दुई विकेट लिए । मोहम्मद अस्लम र मोहम्मद फारुकको नाममा समान एक विकेट रह्यो ।आजदेखि ओमानको अल अमेरतमा सुरु भएको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।

नेपालले अब समूह चरणको दोस्रो खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र जापानबीचको खेल शुक्रबार अल अमेरतमै हुने तालिका छ । प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा प्रवेश गर्नेछन् । जहाँबाट तीन टिमले आगामी वर्ष दक्षिण एसियाकै दुई मुलुक भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

छनोटअघि नेपालले तयारी स्वरुप टेस्ट राष्ट्र तथा दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको तीन खेलको शृंखला खेलेको थियो । युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।यस्तै, ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानविरुद्ध ६ विकेटको र कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।