दोस्रो चरणको काम छिट्टै अघि बढाउँछौँ – मन्त्री घिसिङ
२३ असोज काठमाडौं । ऊर्जा, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका छन् ।बिहीबार मन्त्री घिसिङ मैदानलाई रंगशालामा परिणत गर्ने योजनाअन्तर्गत पहिलो चरणको कामको निरीक्षण र अवस्था अवलोकनका निम्ति कीर्तिपुर पुगेका हुन् । उनले रंगशाला निर्माणको पहिलो चरणको काम सम्पन्न हुन लागेको र दोस्रो चरणको काम पनि छिट्टै अघि बढाउने बताए ।
“नेपालको चर्चित खेलका निम्ति तयार हुँदै गरेको यो रंगशाला निमार्णको पहिलो चरण अन्तिम अवस्थामा पुगेको छ । नेपालका सबैले यो रंगशालालाई महत्त्वपूर्ण रूपमा हेरिरहेका छन् । एनपीएलभन्दा अघि गर्नुपर्ने काम छिटो गर्न निर्देशन पनि दिन्छु,” मन्त्री घिसिङले भने, “पहिलो चरणमा १०–१२ हजार दर्शक अट्ने प्यारापिट बनिसकेको छ । र, दोस्रो र तेस्रो चरण गरेर कुल ३० हजार दर्शक अट्ने योजना रहेछ । त्यसका निम्ति डिजाइनको कामसमेत भइसकेको छ । हामी पहिलो चरणको कामपछि दोस्रो चरणको कामका निम्ति पनि चाँडै नै टेन्डर प्रकृया अघि बढाउन चाहन्छौँ ।”गत भदौ २३ र २४ गतेको प्रदर्शनपछि गठन भएको सरकारका मन्त्री रहेका घिसिङलाई खेलको जिम्मा भने छैन । शुशीला कार्की नेतृत्वको यो सरकारले हालसम्म खेलकुदका लागि फरक मन्त्री तोकेको छैन । युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री कार्कीकै मातहतमा रहेको छ ।
गत वर्ष असार ३१ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णय नै कीर्तिपुरको क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने थियो । असारमा निर्णय भए पनि रंगशाला निर्माणअन्तर्गत फ्लडलाइट र प्यारापिटको ठेक्का गत वर्षको फागुनमा लागेको थियो ।हाल प्यारापिटतर्फको काम सम्पन्न भइसक्दा फ्लडलाइटतर्फको काम अन्तिम चरणमा छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण यही मैदानमा मंसिर १ देखि २७ गतेसम्म सञ्चालन गर्नेसमेत जनाएको छ ।