नेपाली कम्युनिस्ट पार्टीको झन्डा अगाडि बढ्छु – डा. भीम रावल
२६ कात्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका डा. भीम रावलले पार्टीको झन्डामुनि उच्च मनोबल, त्याग र निर्भिकताका साथ अगाडि बढ्ने बताएका छन् । बुधबार (कात्तिक २६) काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले भने, “युवा जनशक्ति पलायन भएका छन्, कृषि क्रान्तिमा जान तयार रहेको हो ? विश्व शान्तिका प्रतिक गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् ।” जस्तोसुकै हिलो र काँडामा हिँडे पनि संस्कृति र सभ्यताको नेतृत्व गर्नेमा उनले विश्वास व्यक्त गरे ।
विगतका कमीकमजोरी महसुस गरेर अगाडिको बाटोमा जान कटिबद्ध हुनुपर्ने उल्लेख गरे । रावलले विगत ७५ वर्षमा गरेका कामका विषयमा आफ्नै मनलाई सोधेर गहन चिन्तन मनन गर्न पनि आग्रह गरे । नेपाली कम्युनिस्ट पार्टीको झन्डा लिएर उभिँदा विगतका दुःख गह्रुँगो पीडा बिर्सिएको उनको भनाइ छ । कम्युनिस्ट पार्टीलाई सशक्त बनाएर मातृभूमि नेपालको मुहार उज्यालो बनाउने उनको भनाइ छ । भाषणअघि सुरुमा उनले कविता वाचन गरेका थिए । उनले कवितामा अहंकार, समानता, बुद्धभूमि जस्ता शब्द प्रयोग गरेका थिए ।