सेनेगलको पोस्टमा ब्राजिलको दुई गोल
३० कात्तिक काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सेनेगलविरुद्ध २–० को जित निकालेको छ ।शनिबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन इस्टेभाओ र कासिमिरोले गोल गरे । ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको हो ।
खेलको २८औँ मिनेटमा इस्टेभाओको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । जसलाई ३५औँ मिनेटमा मिडफिल्डर कासिमिरोले दोब्बर बनाए । यसपछि थप गोल नहुँदा ब्राजिलले अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध जित सुनिश्चित गरेको हो ।
आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले अब अर्को मैत्रीपूर्ण फुटबलमा ट्युनिसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल बुधबार हुने तालिका छ ।