अध्यक्ष र प्रधानमन्त्री बन्दिन – प्रचण्ड
११ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्नुपर्ने आवश्यकता नभएको भन्दै जनताको सेवकको रूपमा आफूले काम गर्ने बताएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले जनताप्रतिको सेवा भावसहित गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘सम्बोधनको क्रममा उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो ।
म भगवान् होइन । तपाईँहरूको सेवाका लागि धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ। कृष्ण थपलिया जीले मलाई जुन रूपमा प्रस्तुत गर्नुभयो, उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र धन्यवाद दिन चाहन्छु । थपलियाले व्यक्त गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै उनले धन्यवाद दिए ।
समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीका रूपमा देख्ने चाहना व्यक्त गरेपछि संयोजक प्रचण्डले स्पष्ट पारे, ‘मलाई अब प्रधानमन्त्री भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि छैन, त्यसका लागि मरिहत्ते चाहना पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने जिम्मेवारीबाट पन्छिने पनि मेरो स्वभाव होइन।’ यस अघि उनले अब अध्यक्ष नहुने सार्वजनि घाेषणा गरेका थिए ।
सम्बोधनको क्रममा संयोजक प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा आफुले प्रधानमन्त्रीका रुपमा गरेको प्रयास र लगानी जुटाउने कोशिसको स्मरण गरे। उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताउँदै भने, “म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु।” पाण्डेले व्यक्त गरेको विश्वासप्रति आभार व्यक्त गर्दै उनले जनताले चाहेको खण्डमा र देशले आवश्यक ठानेमा आफू जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताएका छन्।