एनपीएलमा विराटनगर किंग्समा आबद्ध डू प्लेसिसले आईपीएल नखेल्ने
१४ मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्समा आबद्ध दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणको लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।डू प्लेसिसले यस सम्बन्धमा जारी गरेको आफ्नो स्टेटमेन्टमा १४ सिजन आईपीएल खेलेपछि यो वर्षको लिलामीमा आफ्नो नाम नराख्ने निर्णयमा पुगेको जनाएका छन् । भारतबाट आफूले मित्रता, सम्झना, पाठ (लेसन) र एक क्रिकेटर तथा एक व्यक्तिको रूपमा आकार पाएको उनले उल्लेख गरेका छन् ।
उनले आफूले यो वर्ष नयाँ र चुनौतीपूर्ण निर्णय लिएको उल्लेख गर्दै पाकिस्तानको पाकिस्तान सुपर लिग (पीएसएल) को आगामी सिजनमा खेल्ने जनाएका छन् । उनले आफू पाकिस्तानको आतिथ्यताको प्रतिक्षामा रहेको पनि उल्लेख गरेका छ्न् ।
बीबीसीका अनुसार डू प्लेसिसले सन् २०१२ मा चेन्नई सुपर किंग्सको तर्फबाट आईपीएलमा डेब्यू गरेका थिए । आफ्नो पहिलो सिजनमा उनले ३९८ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत रहेका डू प्लेसिससँग विश्वभरका फ्रेन्चाइज क्रिकेट लिग खेलेको अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट २०२२ देखि २०२४ सम्म प्रतिस्पर्धा गरेका थिए ।
दक्षिण अफ्रिकाबाट उनले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस क्रममा उनले २३ शतक र ६६ अर्धशतक प्रहार गरेका छन् ।
